वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेलसहित पक्राउ परेका आठ जनामाथि अनुसन्धानका लागि थप चार दिनको म्याद थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरूमाथि अनुसन्धान गर्न शुक्रबार थप चार दिनको म्याद दिएको हो। यसअघि पहिलो चरणमा उनीहरूमाथि ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालनमा रहेको गोल्डेन फिगर क्यासिनोबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिताअनुसार गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।प्रहरीले घटनासँग सम्बन्धित विषयमा थप प्रमाण तथा विवरण संकलन गर्ने क्रममा म्याद थप गरिएको जनाएको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा उनीहरूमाथि थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।


