वीरगञ्ज । वीरगञ्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ।

महानगरपालिकाको सभाहलमा शुक्रबार सम्पन्न गोष्ठीमा महानगरका ३४ स्वास्थ्य चौकीका प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधिसहित ४४ जनाको सहभागिता रहेको थियो। गोष्ठी भदौ २३–२४ र २५–२६ गते गरी दुई ब्याचमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो।महानगरका अनुसार करिब १० वर्षपछि कार्यवाहक मेयरसहित स्वास्थ्य क्षेत्रका सम्पूर्ण सरोकारवालाको प्रत्यक्ष सहभागितामा वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको हो।
कार्यसम्पादन र प्राप्त प्रगतिका आधारमा लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र छपकैया–१ र आधारभूत स्वास्थ्य केन्द्र–२ लाई उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा सम्मान गरिएको छ।गोष्ठीमा विगत तीन वर्षको कार्यसम्पादनसँग तुलना गर्दा चालु वर्षको प्रगतिमा केही आंशिक कमी देखिएको जनाइएको छ। केन्द्रबाट प्राप्त विवरण र स्वास्थ्य संस्थाको स्थलगत वास्तविक कामबीच पूर्णरूपमा मेल नहुँदा प्रगति विवरणमा कमी देखिएको महाशाखाले जनाएको छ।
कार्यक्रमका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको प्रभावकारिता र गुणस्तर अभिवृद्धि गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो।उहाँले केन्द्रमा प्रस्तुत हुने विवरण र स्थलगत अवस्थाबीच देखिएको अन्तरलाई सुधार गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो।
त्यस्तै, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले पारदर्शी मूल्यांकनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताउनुभयो। उहाँले कार्यसम्पादनका क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक त्रुटि सुधार गर्दै केन्द्रको विवरण र फिल्डको वास्तविक अवस्थाबीचको दूरी घटाउन आगामी दिनमा स्थलगत अनुगमनलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।जहिर आलमले सञ्चालन गर्नुभएको गोष्ठीमा वार्षिक समीक्षा कार्यक्रमलाई आगामी वर्षदेखि नियमित रूपमा आयोजना गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


