Lucky-Khabar_

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ नगर्न तथा त्यस्ता भिडियो वा दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट नगर्न सबै दर्शकलाई कडा चेतावनी दिएको छ।

content ad p2

बोर्डले आइतबार जारी गरेको विज्ञप्तिमा मोबाइल फोन वा अन्य विद्युतीय उपकरण प्रयोग गरी चलचित्रका दृश्य, भिडियो क्लिप वा अंश अनुमतिबिना रेकर्ड गरेर टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्राम र टेलिग्रामजस्ता डिजिटल प्लेटफर्ममा अपलोड गर्ने गतिविधि बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिअनुसार चलचित्रका कुनै पनि अंश रेकर्ड गर्ने, प्रतिलिपि बनाउने वा डिजिटल माध्यमबाट प्रसारण गर्ने कार्य प्रतिलिपि अधिकार ऐन, २०५९ तथा विद्युतीय कारोबार ऐन, २०६३ विपरीत हुने भएकाले यस्तो गतिविधि कानुनविपरीत मानिन्छ।

बोर्डले डिजिटल पाइरेसीका कारण चलचित्र निर्माता, कलाकार, प्राविधिक तथा लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्नुका साथै समग्र नेपाली चलचित्र उद्योगमा नकारात्मक असर परेको उल्लेख गरेको छ। त्यसैले अनधिकृत रूपमा सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्री तत्काल हटाउन तथा भविष्यमा यस्ता गतिविधि नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

बोर्डले चेतावनीलाई बेवास्ता गरी पाइरेसीमा संलग्न पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि स्पष्ट पारेको छ।

यसैगरी, सिनेमा हलभित्र हुने डिजिटल पाइरेसी नियन्त्रणका लागि आन्तरिक निगरानी प्रणाली थप प्रभावकारी बनाउन चलचित्र घर सञ्चालकहरूलाई निर्देशन दिइएको छ। हलभित्र गैरकानुनी रेकर्डिङ वा पाइरेसी भएको थाहा पाएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन बोर्डले आग्रह गरेको छ।

चलचित्र विकास बोर्डले बौद्धिक सम्पत्तिको संरक्षणका लागि दर्शक, कन्टेन्ट क्रिएटर तथा सामाजिक सञ्जाल पेज सञ्चालकहरूलाई जिम्मेवार बन्न र सिर्जनात्मक सामग्रीको सम्मान गर्न पनि अपिल गरेको छ।

सम्बन्धित खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

जनकपुरमा दुई दिन वार्ता : आन्दोलन स्थगित, हिन्दू राष्ट्रबारे सहमति भयो त

लक्की खबर

पेट्रोलियम पदार्थ दोहोरो अङ्कमा मूल्य बढेर आएपछि महँगिने संकेत, निगम सञ्चालक समितिको निर्णय पर्खाइमा

लक्की खबर