वीरगञ्ज ।पर्साको विन्दवासिनी गाउँपालिकाबाट सशस्त्र प्रहरीले ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार शनिबार राति करिब ११ः५५ बजे विन्दवासिनी गाउँपालिका–४ मधवल क्षेत्रमा विशेष सूचनाका आधारमा गरिएको चेकजाँच तथा निगरानीका क्रममा उक्त पदार्थ बरामद गरिएको हो।वि.ओ.पी. अमरपट्टी, वि.ओ.पी. प्रसौनीभाठा र प्रहरी चौकी अमरपट्टीबाट संयुक्त रूपमा खटिएको टोलीले इटियाहीबाट मधवलतर्फ आउँदै गरेका व्यक्तिहरूमाथि निगरानी गरिरहेको थियो।
प्रहरी टोलीलाई देखेपछि उनीहरूले तीन वटा मोटरसाइकल र तीन वटा झोला झाडीमा फालेर भाग्ने प्रयास गरेका थिए। सो क्रममा संयुक्त सुरक्षा टोलीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।बरामद गरिएका तीन वटा झोला जाँच गर्दा ३९ किलो २५० ग्राम गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो। घटनास्थलबाट तीन वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका व्यक्ति, बरामद पदार्थ र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


