वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी) विकास अधिकारी र प्रहरी निरीक्षक उत्तर वाईवा ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड–२०८३’ बाट सम्मानित भएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघले स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उक्त अवार्डबाट अधिकारी र वाईवालाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।
वीरगञ्ज उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट र संघका अध्यक्ष हरि गौतमले उनीहरूलाई सम्मान गरेका थिए।अवार्ड प्रदान गर्दै अध्यक्ष गौतमले स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक थपलियाले सुरक्षा क्षेत्रमा पुर्याएको योगदान र राष्ट्र सेवाप्रतिको समर्पणलाई चिरस्थायी बनाउन अवार्ड स्थापना गरिएको बताए। उनले निजी क्षेत्र र सुरक्षा निकायबीचको सहकार्य, समन्वय र विश्वासलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा डीआईजी भट्टले सशस्त्र प्रहरीले सीमा सुरक्षासँगै विपद् व्यवस्थापन, उद्धार तथा नागरिक सुरक्षामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। सुरक्षा निकाय र निजी क्षेत्रबीचको सहकार्यले मुलुकको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो।सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले संगठनका मूल्य, मान्यता र अनुशासनलाई आत्मसात् गर्दै कर्तव्य निर्वाह गर्न कर्मचारीलाई आग्रह गरे। ‘बेष्ट इन्ट्रिग्रिटी अवार्ड’ले सशस्त्र प्रहरी कर्मचारीमा इमानदारी, निष्ठा, जिम्मेवारीबोध र सकारात्मक ऊर्जा बढाउने विश्वास उनले व्यक्त गरे।

स्वर्गीय सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको २०८० भदौ २ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत रहेकै अवस्थामा निधन भएको थियो। उनको योगदान र स्मृतिलाई सम्मान गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघले उक्त अवार्ड स्थापना गरेको हो।कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी–व्यवसायी, सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी, प्रहरी प्रमुख तथा सञ्चारकर्मीको उपस्थिति थियो।


