सिमरा,बारा । सिमरा विमानस्थलमा बुधबारदेखि यात्रु तथा कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको सहयोगमा स्थापना गरिएको हेल्थ डेस्कको कलेजका अध्यक्ष प्रो. डा. जैनुद्दिन अन्सारीले उद्घाटन गरेका हुन्।

सरकारको १०० दिने विकास कार्यक्रमअन्तर्गत विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो। प्रारम्भिक चरणमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिइने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले जानकारी दिए।

हेल्थ डेस्कबाट विमानस्थलका यात्रु, कर्मचारी, सुरक्षाकर्मी तथा सरसफाइ कर्मचारीलाई आकस्मिक स्वास्थ्य जाँच, प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराइनेछ। स्वास्थ्य अवस्था गम्भीर देखिएमा थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइएको छ।
विमानस्थलमा विपद् वा ठूलो आकस्मिक घटना भए नेशनल मेडिकल कलेजको डिजास्टर रेस्पोन्स टिममार्फत आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने जनाइएको छ। हेल्थ डेस्कमा कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीले नियमित रूपमा सेवा दिनेछन्।सेवाग्राहीको चाप र आवश्यकताका आधारमा आगामी दिनमा हेल्थ डेस्क सञ्चालनको समय थप गरिने बताइएको छ।
उद्घाटन कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, हस्पिटल डाइरेक्टर डा. ईशरत जहानसहित कलेजका कर्मचारी, विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो।


