काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना दुग्धजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै घिउको निर्यात औपचारिक रूपमा सुरु गरेको छ। पहिलो खेपअन्तर्गत ५०० किलो डीडीसीको घिउ नेपाल एयरलाइन्समार्फत दुबई पठाइएको हो।

प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत डीडीसीका उत्पादनको प्रचार गरेपछि संस्थानका उत्पादन थप चर्चामा आएका बेला डीडीसीले विदेशी बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्न थालेको हो।
डीडीसीले मध्यपूर्वमा बजार विस्तारका लागि निजी क्षेत्रको कम्पनीसँग व्यावसायिक सम्झौता गरेको जनाएको छ। संस्थानका अनुसार वार्षिक ५० हजार किलो अर्थात् ५० टन घिउ निर्यात गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक बजार प्रतिक्रिया उत्साहजनक भए निर्यातको परिमाण क्रमशः बढाउँदै लैजाने योजना डीडीसीको छ।
दुबईलाई प्रारम्भिक बजारका रूपमा अघि बढाएको डीडीसीले जापान, दक्षिण कोरिया तथा चीनको तिब्बतसम्म पनि आफ्ना दुग्धजन्य उत्पादन पुर्याउने तयारी गरिरहेको जनाएको छ।
उत्पादन क्षमता वृद्धि गर्दै नेपाली दुग्धजन्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने लक्ष्यसहित डीडीसीले निर्यातलाई प्राथमिकतामा राखेको छ। यसबाट नेपाली दुग्धजन्य उत्पादनको विदेशमा बजार विस्तार हुनुका साथै स्वदेशी दुग्ध उद्योगलाई समेत थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।


