वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजनअन्तर्गतको १०० दिने संस्थागत तालिम औपचारिक रूपमा सुरु भएको छ। एनसीसी सिनियर क्याडेट तालिमका लागि छनोट भएका कलेजका ३० जना छात्र–छात्राको सहभागितामा तालिमको शुभारम्भ गरिएको हो।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रमुख सेनानी लोकेन्द्र कार्कीले प्रथम प्रवचन दिँदै तालिमको औपचारिक सुरुवात गर्नुभयो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान, क्याम्पस प्रमुख किशोरी राय, उपसेनानी विकास मरहट्टासहित शिक्षक, नेपाली सेनाका अधिकृत तथा एनसीसी प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सेनानी कार्कीले युवामा अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व क्षमताको विकास गर्नु एनसीसीको प्रमुख उद्देश्य रहेको बताउनुभयो। उहाँले एनसीसी तालिमले विद्यार्थीलाई जिम्मेवार, अनुशासित र देशप्रति समर्पित नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
उहाँले विपद्का समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने दक्ष र जिम्मेवार जनशक्ति तयार पार्न एनसीसी तालिम महत्वपूर्ण हुने बताउनुभयो। तालिमका क्रममा विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक दक्षता र सामाजिक उत्तरदायित्वको भावना विकास हुने अपेक्षा गरिएको छ।
१०० दिनसम्म सञ्चालन हुने तालिममा ८९ दिन संस्थागत (इन–हाउस) तालिम र ११ दिन वार्षिक सामूहिक क्याम्प सञ्चालन गरिनेछ। तालिम अवधिमा क्याडेटहरूलाई एफसीबीसी (FCBC), नक्सा अध्ययन, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोबिक्सलगायत विभिन्न साहसिक तथा व्यावहारिक गतिविधिबारे प्रशिक्षण दिइनेछ।
तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई समेत प्राथमिकता दिइने भएकाले सहभागी विद्यार्थीको शारीरिक क्षमता, अनुशासन, नेतृत्व कौशल तथा आपत्कालीन अवस्थामा काम गर्ने क्षमतामा समेत वृद्धि हुने विश्वास गरिएको छ।
एनसीसी तालिमले विद्यार्थीलाई कक्षाकोठाको शैक्षिक ज्ञानमा मात्र सीमित नराखी राष्ट्रसेवा, सामाजिक सेवा, नेतृत्व र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
हरि खेतान बहुमुखी कलेजले विद्यार्थीको शैक्षिक विकाससँगै अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले एनसीसी कार्यक्रमलाई महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।
कलेजका अनुसार तालिम सफलतापूर्वक सम्पन्न गरेपछि सहभागी क्याडेटहरूमा राष्ट्रप्रति जिम्मेवारीबोध, सामाजिक सेवाको भावना तथा विपद्का समयमा परिचालन हुन सक्ने क्षमता थप विकास हुनेछ। यसले विद्यार्थीको व्यक्तित्व विकाससँगै भविष्यमा जिम्मेवार नागरिक निर्माणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।


