Lucky-Khabar_

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा १८ वर्षीया युवती सुमेदी कुमारी पटेल मृत अवस्थामा फेला परेकी छन्। गरुडा नगरपालिका–७ पिपरिया निवासी सुमेदी करिब दुई महिनादेखि २२ वर्षीय रौनक राज पटेलको घरमा बस्दै आएकी थिइन्।

content ad p2

घटनापछि मृतकका परिवारले सुमेदीको हत्या गरी घटनालाई आत्महत्याको स्वरूप दिन खोजिएको आरोप लगाएका छन्। मृतकका बुवा लालबाबु पटेलका अनुसार रौनकले प्रेम सम्बन्धपछि परिवारको सहमतिबिना छोरीलाई आफ्नो घरमा ल्याएर राखेका थिए।

परिवारका अनुसार त्यसपछि रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले दाइजोका रूपमा सुन, मोटरसाइकल, नगद तथा अन्य सामग्री माग गर्दै सुमेदीमाथि दबाब दिने गरेका थिए। दाइजो दिन अस्वीकार गरेपछि मानसिक यातना, कुटपिट र घरेलु हिंसा भएको मृतक पक्षको आरोप छ।

लालबाबुका अनुसार बिहीबार बिहान करिब साढे ४ बजे छोरीले आत्महत्या गरेको भन्दै परिवारलाई फोनमार्फत जानकारी दिइएको थियो। तर विगतमा भएको भनिएको दाइजोको दबाब तथा पारिवारिक विवादका कारण घटना शंकास्पद रहेको भन्दै उनले निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

मृतक पक्षले यसअघि रौनककी बहिनीले दाइजो नदिए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै धम्की दिएको समेत दाबी गरेको छ। सोही कारण घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन परिवारले माग गरेको छ।

घटनापछि आफन्त तथा स्थानीयवासीले समेत निष्पक्ष छानबिन गरी दोषी पाइए कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

सुमेदीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानको निष्कर्षपछि मात्र स्पष्ट हुने बताइएको छ।

नोट: हत्या भएको आरोप मृतक पक्षले लगाएको हो; प्रहरीले अनुसन्धान पूरा नगरेसम्म आरोपलाई पुष्टि भएको तथ्यका रूपमा लिन मिल्दैन।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर