वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।

शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा वीरगंज महानगरपालिका–गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार क्यासिनोको पार्किङबाट सखुवाप्रसौनी गाउँपालिकाको नाममा रहेको ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकामध्ये क्यासिनोका कर्मचारीसमेत रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको डीएसपी मल्लले बताए।
सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको जनाएको छ।
नेपालको प्रचलित कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न प्रतिबन्ध रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने डीएसपी मल्लले जानकारी दिए।


