काठमाडौं । बाढी तथा पहिरोका कारण रसुवामा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेपछि हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा हैजा लगायतका पानीजन्य रोग फैलिने जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ। त्यसैले रोगको रोकथाम, शीघ्र पहिचान तथा उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्रका नागरिकलाई खानेपानी उमालेर वा सुरक्षित बनाएर मात्र पिउन, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिन र हैजाका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।


