
वीरगञ्ज । लामो समयदेखि रोकिएको पर्सा यातायात व्यवस्था कार्यालयको भवन निर्माण कार्यलाई तत्काल अघि बढाउने प्रतिबद्धता स्वास्थ्य तथा जनसंख्या मन्त्री थापाले व्यक्त गर्नुभएको छ।
मन्त्री थापाले कार्यालयको भवन निर्माणमा देखिएका समस्या र अवरोधबारे जानकारी लिँदै सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्यलाई शीघ्र अगाडि बढाउने बताउनुभएको हो।
भवन निर्माण रोकिँदा यातायात कार्यालयबाट सेवा लिन आउने सेवाग्राही तथा कर्मचारीलाई समेत समस्या हुँदै आएको छ। पर्याप्त भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाह प्रभावित भइरहेको अवस्थामा भवन निर्माण पुनः सुरु हुने प्रतिबद्धताले सेवाग्राहीमा समेत आशा जगाएको छ।
मन्त्री थापाले जनतालाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने बताउँदै रोकिएको भवन निर्माण कार्यमा देखिएका प्राविधिक तथा प्रशासनिक समस्या समाधानका लागि पहल गर्ने उल्लेख गर्नुभयो।
पर्सा यातायात कार्यालयको भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीलाई सहज वातावरणमा सेवा उपलब्ध गराउन तथा कार्यालयको सेवा प्रवाह थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


