बिरगंज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका एक युवकको २७ घण्टापछि शव फेला परेको छ।

बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादवको शव शनिबार अपराह्न करिब ४ बजे घटनास्थलबाट करिब १०–१२ किलोमिटर टाढा फतुवा क्षेत्रस्थित लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार यादव शुक्रबार दिउँसो करिब १ बजे मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका थिए। उनी आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा पछाडि बसेर उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए।

पुलमा पुगेपछि यादवले मोटरसाइकल रोक्न लगाएर ओर्लिएका थिए। त्यसपछि अचानक नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए।प्रहरीका अनुसार यादव मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको कमान्डमा प्रहरी टोली तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहितको टोली खोजीमा परिचालन गरिएको थियो।
लालबकैया नदीमा पानीको बहाव तीव्र हुनुका साथै नदी गहिरो भएकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ। कठिनाइका बाबजुद संयुक्त सुरक्षा टोलीले निरन्तर खोजी गर्दा शनिबार अपराह्न यादवको शव फेला पारेको हो।

शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ।


