वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले घण्टाघरनजिक निर्माणाधीन बीपी पार्क यही आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।

महानगरपालिकाको २१औँ विशेष नगरसभामा चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्दै मेयर सिंहले बीपी उद्यानलाई व्यवस्थित, सुरक्षित र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गरिने बताएका हुन्।
उनका अनुसार पार्कमा वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिकका लागि विश्राम केन्द्र तथा पर्याप्त हरियाली विस्तार गरिनेछ। पार्कलाई सुरक्षित र प्रविधिमैत्री बनाउँदै वीरगञ्जको प्रमुख आकर्षणका रूपमा विकास गर्ने महानगरको योजना रहेको उनले बताए।
नगरवासीको आवागमन सहज बनाउन निजी क्षेत्रसँग सहकार्य गरी महानगर क्षेत्रमा नगर बस सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको सिंहले जानकारी दिए।
त्यस्तै, रातिको समयमा वीरगञ्जलाई सुरक्षित र आकर्षक बनाउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘उज्यालो वीरगञ्ज’ अभियानलाई थप प्रभावकारी बनाइने उनले बताए। मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलइडी र हाइमास्ट बत्ती थप जडान गरी महानगरको कुनै पनि क्षेत्र अन्धकारमा नरहने गरी काम अघि बढाइने उनको भनाइ छ।
महानगरले वीरगञ्जलाई स्वच्छ, हरित, सभ्य र जीवन्त शहरका रूपमा विकास गर्न ‘स्वच्छ, हरित र वैभव वीरगञ्ज’ अभियान सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। अभियानअन्तर्गत सडक कोरिडोर तथा डिभाइडरमा हरियाली विस्तार, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गरिने जनाइएको छ।
शैक्षिक क्षेत्रको सुधारका लागि सार्वजनिक विद्यालयको दरबन्दी संरचना, विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधारबीच आवश्यक तादम्यता कायम गर्ने नीति लिइने मेयर सिंहले बताए।
महानगरले स्थानीय भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणलाई समेत प्राथमिकता दिएको छ। भोजपुरी भाषा, संस्कृति, साहित्य तथा कलाको संरक्षण र प्रवद्र्धनका लागि भोजपुरी प्रतिष्ठानलगायत सम्बन्धित संस्था तथा व्यक्तिको सक्रियतामा विभिन्न कार्यक्रम सञ्चालन गरिने सिंहले जानकारी दिए।
नगरवासीको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई लक्षित गर्दै आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जन स्थल र पार्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना पनि महानगरले अघि सारेको छ।


