Lucky-Khabar_

गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।

बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् ।

content ad p2

चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको सिरीङ्गे हिमालमा हिमपहिरो गएपछि बूढीगण्डकी नदीमा ठूलो बाढी आएको बताइएको छ । हिमपहिरोका कारण स्थानीय उइङ्गुलुङ खोला र बूढीगण्डकी नदीको बहाव अवरुद्ध भई बनेको पानीको अवरोध खुलेपछि एक्कासि ठूलो बाढी आएको प्रारम्भिक जानकारी छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याक्चेतस्थित सिर्दिबास जोड्ने झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ केरौँजामा रहेको झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, आरुघाट गाउँपालिका–९ मा रहेको मोटरेबल पुलको एकतर्फ क्षति पुगेको छ भने आरुघाट गाउँपालिका–२ र ३ जोड्ने फलामे मोटरेबल पुल पनि बाढीले बगाएको बताइएको छ ।

बाढीमा परी पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् । स्थानीयका अनुसार उनीहरू गोठालो गएका थिए तर फर्किएर नआएपछि खोजी सुरु गरिएको हो । प्रहरीले उनीहरूको खोजी कार्य अघि बढाएको छ ।

बाढीले चुमनुब्री गाउँपालिका–३ सिर्दिबासमा रामबहादुर गुरुङको कच्ची घर बगाएको छ भने अर्को एउटा घरमा पानी पसेको छ । धार्चे गाउँपालिका–५ मा पाँचदेखि सातवटा घर तथा गोठमा बाढी पसेको बताइएको छ । धार्चेको सल्लेरी क्षेत्रमा करिब २२ वटा घर जोखिममा परेका छन् ।

बाढीले निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउससमेत बगाएको छ । पावरहाउस आसपासका सातदेखि आठवटा घर पनि बाढीले बगाएको बताइएको छ ।

घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । हेलिकोप्टरमार्फत सिर्दिबास र हिमपहिरो गएको क्षेत्र आसपास खोजी तथा उद्धारको प्रयास भइरहेको छ । बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर