
घटस्थापनाका अवसरमा गहवा माई मन्दिरमा विशेष पूजाआराधना, कलश स्थापना तथा जमरा राखिएको छ। दसैँभर मन्दिरमा दुर्गा सप्तशती पाठ, धार्मिक अनुष्ठान तथा विशेष पूजाआराधना गरिने परम्परा छ। वीरगञ्जसहित आसपासका क्षेत्र तथा छिमेकी भारतबाट समेत भक्तजनहरू दर्शनका लागि आउने गरेका छन्।
बडादसैँको आगमनसँगै वीरगञ्ज, कलैया, गौर, जनकपुरलगायत मधेस प्रदेशका प्रमुख सहर तथा बजारहरूमा दुर्गा पूजाका लागि आकर्षक पण्डाल निर्माण गरिएको छ। विभिन्न चोक तथा बजारमा झिलिमिली बत्ती, तोरण र सजावटले दसैँको रौनक थपिएको छ। नवरात्रभर विभिन्न स्थानमा भजनकीर्तन, पूजाआराधना तथा मेला आयोजना हुने भएकाले धार्मिक उत्साह बढेको छ।
घटस्थापनाका दिन वैदिक विधिअनुसार घरघरमा तथा शक्तिपीठहरूमा जौ छरेर जमरा राख्ने र कलश स्थापना गरी दुर्गा भवानीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिन दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। विजया दशमीका दिन टीका र प्रसादसँगै जमरा ग्रहण गरी दसैँ मनाइन्छ।
यस वर्षको विजया दशमी कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार उक्त दिन बिहान १० बजेर २६ मिनेटमा टीकाको उत्तम साइत रहेको छ।
धार्मिक आस्था, पारिवारिक पुनर्मिलन र आपसी सद्भावको प्रतीक मानिने बडादसैँ घटस्थापनासँगै सुरु भएपछि मधेस प्रदेशका मन्दिर, शक्तिपीठ र पूजा पण्डालहरूमा भक्तिभाव तथा उत्साह बढेको छ।


