Lucky-Khabar_

४७ ब्रान्डका जीवनरक्षक औषधिको उत्पादन र आयातमा प्रतिबन्ध

काठमाडौं। औषधि व्यवस्था विभागले गुणस्तर, सुरक्षा र जोखिम मूल्याङ्कनसम्बन्धी आवश्यक कागजात पेस नगरेको भन्दै ४७ ब्रान्डका इम्युनोसुप्रेसिभ औषधिको दर्ता तथा अनुज्ञापत्र खारेज गर्दै उत्पादन र आयातमा प्रतिबन्ध लगाएको छ।

content ad p2

विभागले असोज २० गतेको महानिर्देशकस्तरीय निर्णयअनुसार असोज २७ गतेदेखि लागू हुने गरी ती औषधिको नयाँ उत्पादन तथा पैठारीमा रोक लगाएको हो। अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीले नियमित सेवन गर्दै आएका औषधिमा प्रतिबन्ध लगाएपछि बिरामीहरूमा अन्योल र चिन्ता बढेको छ।

इम्युनोसुप्रेसिभ औषधिले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई नियन्त्रणमा राख्न मद्दत गर्छ। विशेषगरी मिर्गौला तथा अन्य अङ्ग प्रत्यारोपण गरेका बिरामीले प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकार गर्न नदिन यस्ता औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ।

वीर अस्पतालका नेफ्रोलोजिस्ट प्रा. डा. अरुण सेढाईंका अनुसार मिर्गौला प्रत्यारोपण गरेका बिरामीले नयाँ अङ्ग सुरक्षित राख्न जीवनभर बिहान–बेलुका नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा औषधिको उत्पादन तथा आयातमा लगाइएको प्रतिबन्धले बिरामीको उपचार र औषधि उपलब्धतामा समस्या निम्त्याउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

विभागले औषधिको गुणस्तर र सुरक्षामा सुधार ल्याउन तथा उत्पादनका क्रममा हुने क्रस कन्टामिनेसन अर्थात् एक औषधिबाट अर्कोमा हुने अनिच्छित मिसावटको जोखिम कम गर्न छुट्टै उत्पादन संरचना (डेडिकेटेड फ्यासिलिटी) नभएका उद्योगका औषधिमाथि कारबाही गरिएको जनाएको छ।

तर, चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले सम्बन्धित विशेषज्ञ र सरोकारवालासँग पर्याप्त परामर्श नगरी हतारमा निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिबन्धका कारण नियमित औषधि सेवन गरिरहेका बिरामीले विकल्प खोज्नुपर्ने र औषधि उपलब्ध नभए उपचारमा समस्या आउन सक्ने उनीहरूको चिन्ता छ। औषधि खरिदका लागि भारत जानुपर्ने अवस्था आउन सक्ने सम्भावनासमेत औँल्याइएको छ।

यद्यपि, औषधि व्यवस्था विभागले प्रतिबन्धअघि नै बजारमा आइसकेका तथा मौज्दात रहेका औषधिको बिक्रीवितरणमा रोक नलगाइएको स्पष्ट पारेको छ। बिरामीलाई औषधि अभाव हुन नदिने र आपूर्ति व्यवस्था निरन्तर कायम राख्ने विभागको भनाइ छ।

नियमित सेवन गर्नुपर्ने जीवनरक्षक औषधिको उत्पादन तथा आयातमा प्रतिबन्ध लागेपछि बिरामी र उनीहरूका परिवारमा अन्योल बढेको छ। चिकित्सकको सल्लाहबिना औषधि परिवर्तन गर्दा स्वास्थ्यमा जोखिम हुन सक्ने भएकाले बिरामीलाई आफूले सेवन गरिरहेको औषधि अचानक बन्द नगर्न र विकल्प आवश्यक परे सम्बन्धित चिकित्सकसँग परामर्श गर्न सुझाव दिइएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर