काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीचको सीमावर्ती क्षेत्रमा अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबीच भीषण झडप भएको छ। अफगानिस्तानको पक्तिया प्रान्तनजिक भएको उक्त भिडन्त कैयौँ घण्टासम्म चलेको जनाइएको छ।

अफगानिस्तानको सरकारी समाचार एजेन्सी ‘बख्तर’ले तालिबान सरकारका स्रोतलाई उद्धृत गर्दै झडपमा सात जना पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। यद्यपि, उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
यता, पाकिस्तानी सञ्चारमाध्यम रेडियो पाकिस्तानले सुरक्षा स्रोतलाई उद्धृत गर्दै खैबर पख्तुनख्वा प्रान्तको माथिल्लो कुर्रम क्षेत्रमा अफगान तालिबान सरकारी सेनाले गरेको गोलाबारीको पाकिस्तानी सेनाले जवाफ दिएको जनाएको छ।
तालिबान सरकारका सुरक्षा स्रोतले बीबीसी पश्तोलाई दिएको जानकारीअनुसार सीमाक्षेत्रमा तैनाथ सीमा प्रहरी र सैनिकबीच भिडन्त भएको हो। सार्वजनिक भएका केही भिडिओमा तालिबान सेनाले सीमापार रहेका पाकिस्तानी सैनिकतर्फ रकेट तथा तोपखानाबाट प्रहार गरेको देखिएको जनाइएको छ।यसअघि अक्टोबर १ मा पाकिस्तान सरकारले ११ जना अफगान ‘आतंककारी’ मारिएको दाबी गरेको थियो। तर, अफगान तालिबान अधिकारीहरूले उक्त दाबी अस्वीकार गरेका थिए।
अफगान अधिकारीहरूले पाकिस्तानमाथि कुनार र हेलमान्ड प्रान्तमा सर्वसाधारणका घरमा बम विस्फोट गराएको र त्यसबाट नौ जनाको मृत्यु भएको आरोपसमेत लगाएका थिए।सीमाक्षेत्रमा भएका पछिल्ला घटनाबारे दुवै पक्षका दाबी फरक–फरक रहेकाले हताहती तथा घटनाको वास्तविक विवरण स्वतन्त्र स्रोतबाट पुष्टि हुन बाँकी छ।


