३असार,अत्यधिक गर्मीका कारण साउदी अरबमा कम्तीमा १४ जना हजयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेहरू जोर्डनका नागरिक रहेको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बी.बी.सी.ले जनाएको छ।

जोर्डनको विदेश मन्त्रालयले आफ्ना १४ नागरिकको अत्यधिक गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको जनाएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।
ए.एफ.पी. समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले पाँच जना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ, तर उनीहरूको मृत्यु कसरी भयो भन्ने बताएको छैन। एक विज्ञप्तिमा, जोर्डनको विदेश मन्त्रालयले मृत्यु भएकाहरूको परिवारको इच्छाअनुसार मृत्यु भएकाहरूको शव गाड्ने वा स्वदेश फिर्ता गर्ने प्रक्रियामा साउदी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो। मुस्लिम धर्मावलम्बीहरू इदको अवसरमा हजयात्राका लागि साउदीको मक्का मदिना पुग्ने गर्छन्। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिएका छन्। यस हप्ताको तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ, जसले गर्दा घरबाहिर र पैदल हिँड्ने मानिसहरू, विशेष गरी वृद्धवृद्धाहरूका लागि गाह्रो भएको छ।
साउदी प्रेस एजेन्सीले माउन्ट अराफात नजिकैको एक उपचार केन्द्रमा मानिसहरूको स्वास्थ्य बिग्रेका २२५ घटना रेकर्ड गरिएको बताएको छ।


