१४ असार,वीरगञ्ज । पर्सामा प्रहरीले हुण्डीको कारोबारी भएको आशंकामा एक भारतीय युवकलाई नगद रकमसहित पक्राउ गरेको छ। पक्राउ ब्यक्ति भारतको बिहार राज्यको बेतिया जिल्लाको इनरुवा बजार घर भएका ३२ वर्षीय सिताराम प्रसाद कुशवाहा रहेका छ।
कुशवाहालाई नगद ५ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५, मसियानीमा कुशवाहा सवार म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकलको कार्बोरेटरभित्र लुकाई छिपाई राखिएको नेपाली १ हजार दरका नोट ५ सय थान र ५ सय दरका नोट १ सय थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले जनाए |
प्रहरीले बरामद गरिएको नगद रकमको श्रोत खुल्न नसकेको र उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित भएको आशंकामा कुशवाहालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
कुशवाहामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी गराए ।



