२४ असार,रौतहट । रौतहटमा छुट्टाछुट्टै स्थानको नदीमा एक महिला र एक पुरुष गरी दुई जनाको शव फेला परेको छ।

एक जना पुरुष पानीमा बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। गरुडा नगरपालिका–५ महमदपुरका २२ वर्षीय अनिल कुमार यादव तलाउमा डुबेको आशंकामा प्रहरीले खोजतलास सुरू गरेको छ।
क्षारे रोगबाट ग्रसित यादव सोमबार बिहान शौच गर्न जाँदा दिउँसोसम्म घर नआएपछि घरका मानिसले खोजी गर्दै जाँदा तलाउ किनारमा उसको गम्छा भेटेका थिए।
अनिल शौच गरेर खोला किनारमा गएको समय उनलाई रोगले मुर्छित पारेपछि तलाउमा डुबेर बेपत्ता भएको हुनसक्ने परिवारको आशंका रहेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभार, हेक्वाटरबाट विपद तथा उद्धार सम्बन्धी सामग्री लिएर गएको टोली र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले तलाउमा अनिलको खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातीले बताएका छन्।
उता जिल्लाको पूर्वीभेग माधव नारायण नगरपालिका–९ गढो गाउँनजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेका ५३ वर्षीय पुरुषको शव बरामद गरी सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्।
महिला र पुरुष दुवै शवको सनाखत हुन नसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख प्रहरी उपरीक्षक विक्रम हुमागाईंले बताए। यस पटकको मनसुन सुरू भएयता रौतहटमा डुबेर बेपत्ता भएको यो पहिलो घटना रहेको प्रहरीले जानकारी दिएको छ।


