२१ साउन,पर्सा । यातायात व्यवस्था कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५१ करोडभन्दा बढी राजस्व संकलन उठाएको छ। कार्यालयका प्रमुख कमल गौतमका अनुसार यो रकम विभिन्न राजस्व शीर्षकबाट सङ्कलन गरिएको हो।

यस्तै यातायात कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी १ अर्ब १० करोड ५१ लाख ७५ हजार ४९ रुपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिएको छ। यो रकम राजस्व संकलनको मुख्य स्रोत रहेको छ। त्यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट सबैभन्दा कम १५ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
त्यस्तै चालक अनुमति पत्र र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३४ करोड २४ लाख ९० हजार १ सय ७२ रुपैयाँ राजस्व संकलन भएको छ। यसका साथै, यातायात क्षेत्रको आम्दानीतर्फ ६ करोड ४१ लाख ९१ हजार ४ सय ९० रुपैयाँ राजस्व संकलन भएको छ।
यसरी विभिन्न शीर्षकबाट सङ्कलन गरिएको राजस्वले यातायात कार्यालयको आर्थिक अवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ।
चालु आर्थिक वर्षमा बेरुजु रकम मध्ये ५ हजार ९७ रुपैयाँ असुलउपर गरिएको प्रमुख गौतमले जानकारी दिएका छन्। बेरुजु रकमको असुलउपरले कार्यालयको वित्तीय व्यवस्थापनलाई सुदृढ बनाएको छ।
यस आर्थिक वर्षमा कार्यालयको राजस्व सङ्कलनमा थप सुधार आउने अपेक्षा गरिएको छ। कार्यालयले विभिन्न सेवाहरूलाई प्रभावकारी र पारदर्शी बनाउँदै राजस्व सङ्कलनलाई थप वृद्धि गर्नका लागि विभिन्न योजनाहरू तयार पारिरहेको छ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जले आगामी वर्षहरूमा पनि यस प्रकारको राजस्व सङ्कलनलाई निरन्तरता दिने र यातायात व्यवस्थापनमा थप सुधार ल्याउने लक्ष्य राखेको जानकारी दिएको छ।


