Lucky-Khabar_

सबैले आज श्री कृष्ण जन्माष्टमी भव्यताका साथ मनाइँदै

१० भदौ, वीरगञ्ज ।आज कृष्ण जन्माष्टमी भगवान श्रीकृष्णको आराधना गरी मनाइँदै छ । सनातन धर्मावलम्बीहरूले भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाईने गरिन्छ ।

content ad p2

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज वीरगञ्जको गिता मन्दिर, ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, लगायत देशभरका कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।

देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गर्नेहरुको घुईंचो लागेको छ । यसै अवसरमा भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । मन्दिर जान नसकेका श्रद्धालुहरुले व्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गर्दैछन् ।

श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकिर्तन गरेर कृष्णको महिमा गाउने गर्छन् । भगवान कृष्णले आफ्नै मामा कंशको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन, तर सत्यको अवश्य जित हुन्छ भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन् । कृष्ण जन्माअष्टमीको अवसरमा आज मध्यरातमा कृष्णलिलासमेत देखाइने परम्परा छ ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।

अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धरतीमा जन्म लिनेछु ।

श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालाई प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन् भने “कर्म गर फलको आशा नगर ।” भन्ने वाणीले मानवलाई कर्म गर्न उत्प्रेरित गरेको पाइन्छ ।

श्री कृष्ण भगवान मुराहरी, गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारने गरिन्छन् । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार नेपाल सरकारले देशभरी  सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर