१६भदौ,बिरगंज।जिल्ला प्रशासन कार्यालय बाराले तीज पर्व खर्चिलो र भडकिलो तीज कार्यक्रम गर्नेलाई कारबाही हुने सम्बन्धी जरूरी सूचना जारी गरेको छ |तीजसँग सम्बन्धीत खर्चिलो एवम् भड्किलो कार्यकम सञ्चालन नगर्नु–नगराउनु अनुरोध गर्दै गरेको खण्डमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाराका छविरमण भट्टराईले आज जारी गरेको सूचना अनुसार पर्व मनाउने सन्दर्भमा अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु हामी सबैको कर्तव्य भएकोले यस कार्यमा जिल्लास्थित सबै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरू, सुधारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको छ।
यस्तै कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रमहरूको आयोजना गरे–गराएमा त्यस्ता गतिविधिहरूको निगरानी गरी कानुन बमोजिम कारबाही हुनेभट्टराईले बताएका छन् ।

हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन साँस्कृतिक पर्वको रूपमा मनाउँदै आएका पनि सुचनामा बताएका छन् ।

भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान शिव–पार्वतीको पुजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुका लागि उपवास बस्नाले मनोकामना पुरा हुने विश्वास रहिआएको छ। यस्ता साँस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहीष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुन्याइरहेका हुन्छन् ।

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको साँस्कृतिक महŒवको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा दिन प्रतिदिन अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको छ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको सहायक प्रजिअ भट्टराईले जानकारी गराएका छन् ।


