२७ पुष,वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाले नदी किनार अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न सूचना जारी गरेको छ ।

महानगरले भित्र बहने सिरिसिया,तिलावे र सिंगहा नदी अतिक्रमण गरी बनाइएका संरचना तत्काल हटाउन भनेको हो। उक्त नदीको केन्द्र भागबाट ३० मिटर भित्र कुनै पनि संरचना निर्माण नगर्न पनि सूचनामा लेखिएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले शुक्रबार सूचना जारी गरेका हुन्। महानगरपालिकाको बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधी २०७५ को दोस्रो संशोधन २०७८ अनुसार मात्रै संरचना बनाउन महानगरले अनुरोध गरेको छ।
सिरिसिया,तिलावे र सिंगहा नदीको केन्द्र भागबाट ३० मिटर दायाँ बायाँ छाडेर मात्रै संरचना बनाउन भनिएको छ। ३० मिटर भित्र रहेका संरचना १५ दिनभित्र खाली गर्न सूचनामा उल्लेख छ ।
नदी अतिक्रमण गरेर संरचना बनाउँदा नदीको बहाव रोकिएर वर्षायाममा डुबानको समस्या आउने हुँदा नदीको आधार क्षेत्रमा कुनै पनि संरचना नबनाउन महानगरले आग्रह गरेको हो।




