२९ चैत,काठमाडौं । रास्वपाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको छ।


लामिछानेको तर्फबाट अधिवक्ता नारायण कँडेलले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएका हुन्।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। अदालतको उक्त आदेशपछि उनलाई सोही राति बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो। लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो।
रास्वपाले उच्च अदालतको आदेश जिल्ला अदालतमा नपुग्दै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको र न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप लगाएको छ। यही विषयलाई लिएर रास्वपाले बुधबार प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन समेत बुझाएको थियो।


