१८ वैशाख, काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस पर्सा जिल्ला कार्य समितिको संयुक्त आयोजनामा आज बिरगंजमा बृहत् र्याली तथा सभा सम्पन्न भएको छ।


घन्टाघरबाट सुरु भएको विशाल र्याली नगरको मुख्य भाग माईस्थान र आदर्शनगर परिक्रमा गरी पुनः घन्टाघर चोकमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममा सयौंको संख्यामा श्रमिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी श्रमिकहरूले ूश्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो, श्रमिक एकता जिन्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेशका अध्यक्ष विजय यादवको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न श्रमिक नेताहरू, सामाजिक अभियन्ता, र राजनीतिक दलका प्रतिनिधिहरूले श्रमिकहरूको हकअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै स अध्यक्ष यादवले भने, ‘श्रमिकबिना राष्ट्रको समृद्धि असम्भव छ। सरकारले श्रमिकप्रति उत्तरदायी नीतिहरू ल्याउनुपर्छ।’ उनले प्रदेश स्तरमा श्रम मन्त्रालयहरूलाई थप सशक्त र सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गरे
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालि कांग्रेसका पार्टी जिल्ला उपाध्यक्ष रामनारायण कुर्मीले न्यूनतम पारिश्रमिकको प्रभावकारी कार्यान्वयन, सामाजिक सुरक्षाको दायरा विस्तार, र थप रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले आन्तरिक रोजगारीको प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार, र श्रमिकको मर्यादित जीवनका लागि ट्रेड युनियनहरूको भूमिका अझ बलियो हुनुपर्नेमा जोड दिए।

आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्याय सहितको समृद्ध राष्ट्रको निर्माणु भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले श्रमिक अधिकारको प्रवर्द्धन र संरक्षणका लागि बलियो सन्देश दिएको आयोजकहरूले बताएका छन्।
उक्त कार्यक्रममा विभिन्न पेशागत संघसंगठन, श्रमिक युनियन, समाजसेवी, राजनीतिक दलका कार्यकर्ता तथा आम नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।


