२४ बैशाख, वीरगञ्ज । वीरगन्जको मुख्य सडक विस्तारमा लामो समयदेखि राजनीतिक दाउपेच बन्दै आएको मध्यममार्गी उपायको खोजीमा जुटेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले गण्डक–घण्टाघर–मितेरी पुलसम्मको सडक २५/२५ मिटर विस्तार गर्ने योजना अघि सारेको थियो ।


यस योजनाले सयौं घर भत्किने, हजारौं मानिस विस्थापित हुने र धेरैको रोजगारी गुम्ने अवस्था भएपछि स्थानीयले यसको विरोध गर्दै बढीमा १० देखि १५ मिटरसम्म मात्र विस्तार गर्न माग गरेका थिए । सडक विस्तारको सम्बन्धमा वीरगन्जको विकासका लागि सहरलाई जोगाएर कम क्षेतिमा आवश्यकता अनुसार मात्रै सडक विस्तार गर्ने मध्यममार्गी बाटोको खोजी गरिएको हो ।

वीरगन्ज महानगरका पूर्व नगर प्रमुख विजय कुमार सरावगी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सहितको टोलीले स्थानीयको मागलाई सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गरेका छन् । छलफलमा मन्त्री दाहालले सडक विस्तारको मन्त्रालयको कुनै योजना नरहेको स्पष्ट पारेका थिए । आवश्यक परेमा यो सडक सहरी विकास मन्त्रालयलाई जिम्मा लगाई स्थानीय तहले आवश्यकता अनुसार विस्तार गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
विभागीय मन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग छलफलपछि अब वीरगन्ज मेनरोडको विस्तार २५ मिटर नभई आवश्यकता अनुसार १५ मिटर या १० मिटर मात्र भत्काउने भन्ने मध्यममार्गी बाटो अपनाईने भएको छ । यस सहमतिसँगै गण्डक चोकदेखि मितेरी पुलसम्मको साढे ६ किलोमिटर सडक विस्तारबारे स्थानीयमा देखिएको अन्योलता अब हट्ने देखिएको छ ।


