२० जेठ,काठमाडौं। नेपालको पहिलो साइकल पसल प्यांक बाइकले आफ्नो सय वर्ष पुगेको अवसरमा नेपालका कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धरलाई मंगलबार मानन्धरलाई सम्मान गरेको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्य रहेको प्यांकले एडिसन साइकल सार्वजनिकसमेत गरेकाे छ । उपप्रमुख डंगोल र सञ्चालक तिरेक मानन्धरले ओलम्पियन मानन्धरलाई सम्मान गरेका थिए। ओलम्पिन मानन्धरले पनि एक थान प्यांक एडिसन बाइक प्राप्त गरेका छन्।

‘मानन्धरको खेलकुदप्रति अथक समर्पण र प्रेरणादायी उपस्थितिको कदर गर्दै प्यांक कस्टम वैकुण्ठ मानन्धर २ः१५ः०३ लिमिटेड एडिसन नामक साइकल सार्वजनिक गरेका छौँ,’ सञ्चालक तिरेक मानन्धरले भने।
त्यस्तै ओलम्पियन मानन्धर एडिसन साइकलको सदभावना दूत नियुक्त भएका छन्। अब, यो साइकल सय थान बिक्रीबाट उठेको फाइदा मानन्धरले पाउनेछन्।
मानन्धरले सन् १९८७ को दक्षिण एसियाली खेलकुद (साग)को म्याराथन २ घण्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए। ३८ वर्षपछि पनि यो कीर्तिमान दक्षिण एसियामा तोडिएको छैन।

‘यो साइकलबाट आएको रकम मैले आफ्नै संस्थामा खर्च गर्नेछु र दोस्रो वैकुण्ठ मानन्धर जन्माउने प्रयत्न गर्नेछु,’ सम्मानित भएपछि मानन्धरले भने, ‘यो साइकल मेरो सुविधाका लागि मात्र होइन, सम्मान र सम्झना जोडिएको छ। सम्मानित बनाउनुभएकोमा अत्यन्त कृतज्ञ छु।’
सन् १९२५ मा अष्टनारायण मानन्धरले असन कमलाक्षीमा पञ्चनारायण अष्टनारायण साइकल पसलको सुरुवात गरेका थिए। हालसम्म यो पसल असनमा यथावत् छ।


