२०, जेठ, वीरगञ्ज।वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको आइसियु (ICU) र सिसिसियु (CCU) वार्डमा तीन घण्टा विद्युत सेवा अवरुद्ध भई बिरामीको उपचार प्रभावित भएको घटनाबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

मेयर सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई मंगलबार ज्ञापनपत्र बुझाउँदै दोषी अधिकारी तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका हुन्। घटनामा १७ जना बिरामीको ज्यान जोखिममा परेको थियो।

ज्ञापनपत्रमा अस्पताल विकास समिति बर्खास्त गर्न, आकस्मिक तयारी प्रणाली सुधार गर्न, पीडितलाई क्षतिपूर्ति दिन र घटना प्रभावित बिरामीको अवस्थाबारे विवरण सार्वजनिक गर्नुपर्ने माग समेटिएको छ।

कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवको समेत उपस्थिति रहेको थियो। यसअघि, अस्पताल विकास समितिको बैठकले इलेक्ट्रीसियन इन्चार्ज सञ्जीव गुप्तालाई निलम्बन गरिसकेको छ।



