राम सुन्दर आर्य
२२ असार,वीरगञ्ज।२०६४ साल चैत २७ गते। संविधानसभाको चुनावको पूर्वसन्ध्या। रौतहटको राजपुर फरहदवास्थित राजा इँटा भट्टामा बम विस्फोट भयो। भारतको बिहार, सीतामढी निवासी ४३ वर्षीय गौरीशंकर राम चमार त्यस दिन ज्यान जोगाएर बाँच्न त सके, तर जिन्दगीभरको घाउ बोकेर बाँचिरहेका छन्।

गौरीशंकरले सुनाएअनुसार, सो इँटा भट्टामा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमका मान्छेहरू बम बनाउने काम गरिरहेका थिए। पैसा लिन बोलाइएका उनी त्यहाँ पुग्दा अकस्मात बम विस्फोट भयो। विस्फोटले उनको दुवै कान उडाइदियो, अनुहार, घाँटी र छातीमा गहिरो चोट लाग्यो।

‘‘पैसा लिन घरको ढोकासम्म पुगेको थिएँ, बम पड्कियो। म आगोमा जल्न थालेँ। भागेर घरको पछाडि पानी थियो, त्यसले शरीर भिजाएँ। त्यसपछि बेहोस भएँ। होश खुल्दा भारतको सीतामढी अस्पतालमा थिएँ,’’ उनले रुन्दै सम्झिए।

तीन महिनासम्म उपचार गराएर बल्ल घर फर्किएका गौरीशंकरले आफताब आलमले न एक पैसा दिएको न कुशलक्षेम सोधेको बताउँछन्। ‘‘साढे तीन लाख भारतीय रुपैयाँ खर्च भयो, तर उसले केही सोध्यो पनि छैन,’’ उनले आक्रोश पोखे।

उक्त घटनामा आफताब आलममाथि इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोप लागेको थियो। तर, पर्याप्त प्रमाण नभएको भन्दै उच्च अदालत वीरगञ्ज इजलासले उनलाई सफाइ दिएको छ। अदालतको फैसला आफूजस्ता पीडितहरूका लागि अन्याय भएको गौरीशंकरको भनाइ छ।
‘‘म बम पड्किएर घाइते भएँ। मलाई धम्की पनि दिइयो। आफताब आलमको मान्छेले आमालाई भने– तिम्रो छोरा त गयो। म आज पनि डराएर बाँचिरहेको छु,’’ उनले सुनाए।

गौरीशंकरको जीवन अहिले अत्यन्त कठिन छ। ‘‘शरीर काम गर्न सक्ने छैन। काम पाउँदिनँ। बाँच्न गाह्रो छ। यस्तो मान्छे छुटेको छ, पीडित हामीहरू बाँच्न सक्दैनौँ,’’ उनी भन्छन्।
उनको माग छ– ‘‘सरकारले त्यस्तो मान्छेलाई छोड्न हुन्न। कडाभन्दा कडा सजाय दिनुपर्छ। न्याय चाहियो।’’


