Lucky-Khabar_

गौर हत्याकाण्डकाे परमादेशपछि जसपा आन्दोलित, वीरगंजमा विरोध प्रदर्शन

राम आर्य
५ भदौ,वीरगंज ।गौर हत्याकाण्डकाे परमादेशपछि जसपा आन्दोलित, वीरगंजमा विरोध प्रदर्शन भएको छ |सर्वोच्च अदालतले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको २७ जनाको ज्यान जाने घटनाको छानबिन गर्न परमादेश जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल आन्दोलित बनेको छ।

content ad p2


जसपाले अदालतको आदेशलाई राजनीतिक प्रतिशोध र मधेस आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै बिहीबार वीरगंजकाे घण्टाघरमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा जसपाका कार्यकर्ताहरूले “उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर”, “मधेस आन्दोलनको अपमान बन्द गर” जस्ता नारा लगाएका थिए।विरोध सभालाई सम्बोधन गर्दै जसपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सिंहासन साह कलवारले अदालतको निर्णयलाई मधेस आन्दोलनको भावनामाथिको आघातको रूपमा चित्रण गरे । उनले उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर बनाउने उद्देश्यले मुद्दा पुनः उठाइएको दाबी गर्दै, यदि यस्तो कदम जारी रह्यो भने देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

जसपा नेतृ करिमा बेगमले पनि अदालतको आदेशलाई मधेसी नेताहरूलाई लक्षित गरिएको षड्यन्त्रको रूपमा व्याख्या गरिन् । उनले भनिन्, “यो कदमले मधेसी जनताको आत्मसम्मान र अधिकारको लडाइँलाई कमजोर बनाउन खोजिएको हो । यदि यो षड्यन्त्र रोकिएन भने मधेस फेरि आन्दोलनको आगोमा बल्नेछ।”जसपा पर्साका अध्यक्ष रामनरेश यादवले चार–चार वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय आयोगले गौर घटनाबारे प्रतिवेदन तयार पारे पनि सरकार र अदालतले त्यसलाई सार्वजनिक नगरी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पूर्वाग्रहपूर्ण तरिकाले फसाउन खोजेको आरोप लगाए । उनले अदालतको आदेशलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै मधेस फेरि आन्दोलनको रणभूमि बन्न सक्ने चेतावनी दिए ।

गौर हत्याकाण्ड मधेस आन्दोलनको संवेदनशील घटना हो । सो क्रममा मधेसी जनअधिकार फोरम (हाल जसपा) र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो । घटनाबारे विभिन्न छानबिन समिति बने पनि अहिलेसम्म ठोस नतिजा सार्वजनिक भइसकेको छैन ।

#जसपा नेपाल

सम्बन्धित खबर

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

लक्की खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर