वीरगञ्ज । केन्द्रीय कारागार सुनधाराबाट ठूलो सङ्ख्यामा कैदीबन्दी मङ्गलवार राति करिब ३३ सय कैदी भागेका छन् ।

फरार हुने कैदीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका पूर्व गृहमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृह सचिव टेकनारायण पाण्डे पनि समावेश छन् ।कारागारमा रहेका ३८ सय कैदीबन्दीमध्ये हाल केवल ५ सय को हाराहारीमा मात्रै बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलवार नख्खु कारागारका कैदी भगाएको समूहले सुनधारा कारागारमा प्रहरी पहरालाई नियन्त्रणमा लिएर कैदीहरूलाई भगाएको हो ।राति ११ बजेको आसपासमा भागेका पूर्व गृह सचिव पाण्डेले कारागार प्रशासनलाई फोन गरेर “म पछि आउँछु” भनेको बताइएको छ ।

नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि फरार भएको पुष्टि भएको छ । कारागारमा खुङ्खार गुन्डा र विभिन्न अपराधमा संलग्न कैदीहरूलाई राखिएको थियो । फरार कैदीहरूको विवरण तयार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


