काठमाडौं|जेनजी आन्दोलनका क्रममा काठमाडौंमा २३ भदौमा ट्रमा सेन्टरमा ६ जनाको मृत्यु पुष्टि भएको रिपोर्ट सार्वजनिक भएको छ। मृतकमध्ये दुईको पहिचान खुल्न ढिला भएकोमा एक नेपालगन्ज–१ धम्बोझीका १९ वर्षीय आयुष थापा रहेको पत्ता लागेको छ। फिनल्यान्ड जाने तयारीमा काठमाडौं रहेका आयुष आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लागेर ज्यान गुमाएका हुन्।

त्यस्तै, सोही वडाका २३ वर्षीय सुलभराज श्रेष्ठ पनि आन्दोलनकै क्रममा मृत्यु भएका छन्। सुलभ काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ अध्ययनरत थिए।

एउटै वडाका दुई युवाको निधनपछि धम्बोझी शोकमा डुबेको छ। नेपालगन्ज–१ वडाले शोक विज्ञप्ति जारी गरी २४ भदौ एक दिनका लागि वडा कार्यालय र विद्यालय बन्द गरेको छ। टोलका युवाहरूले धम्बोझीका चोकहरूको नाम दिवंगत युवामार्फत नामकरण गर्नुपर्ने माग गरेका छन्।



