बिरगंज । आठ प्रमुख दलहरूले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीका प्रमुख सचेतकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संसद् विघटन जननिर्वाचित संस्थामाथि आक्रमण र संविधानमाथिको प्रहार भएको बताएका छन् ।

विज्ञप्तिमा संसद् बैठक तुरुन्त बोलाउन र समस्याको समाधान संविधानिक प्रक्रियामार्फत गर्नुपर्नेमा जोड दिइएको छ । साथै, जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा “लोकतन्त्र र संविधानको रक्षा गर्न हामी एकजुट छौँ,”भनिएको छ । दलहरूले संसद्लाई जनताको आवाजको केन्द्र बनाउन र संवैधानिक प्रक्रियालाई बलियो बनाउन सबै पक्षसँग सहकार्य गर्न तयार रहेको जनाएका छन् ।




