रौतहट ।चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा सशस्त्र प्रहरीले विशेष गुप्त सूचनाका आधारमा अवैध हतियार बोकेका एक युवकलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो करिब ३ः३० बजे नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त जानकारीपछि सशस्त्र प्रहरी सुरक्षा बेस सन्तपुरबाट सप्रनाउ राजेन्द्रबहादुर बस्नेत नेतृत्वको १० जनाको टोली चेकजाँचमा खटिएको थियो।

उक्त टोलीले मकवानपुर हेटौडा–१३ पदमपोखरी निवासी २२ वर्षीय सुमन आचार्यलाई शंका लागेपछि रोकेर गरेको खोजतलासीमा उनले बोकिरहेको झोलाबाट दुई थान पेस्तोल, गोली तथा अन्य सामग्रीहरू फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद हतियार तथा सामग्रीसहित आचार्यलाई सुरक्षा बेस सन्तपुरमा राखी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया जारी रहेको सीमा सुरक्षा बल गौरका प्रमुख रामहरि अधिकारीले बताए।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीका अनुसार बरामद सामग्रीमा ९ मि.मि. ब्राउनिङ पेस्तोल (CF-98-9) सिरीयल नं. 000169 08236 सहितको एक म्याग्जिन, ब्रेटा गारडोनेट भिटी सिरीयल नं. PX 355230 (इटाली) तथा एक म्याग्जिन, १३ थान गोली (पिन्धिमा 31123 अंकित), ओपो मोबाइल, खुकुरी, ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड, लाइसेन्स रसिद र झोला रहेका छन्।
उनीविरुद्धको थप अनुसन्धान नेपाल प्रहरीले अघि बढाएको छ।


