वीरगञ्ज । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले पर्सामा आफ्नो चुनावी कसरत तीव्र बनाएका छन्। सुशीला कार्की नेतृत्वको सरकारलाई अवैधानिक भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आएको नेकपा एमाले चुनाव केन्द्रित गतिविधिमा व्यस्त देखिन्छ।

एकीकृत १६ दलको गठबन्धनका रूपमा उदाएको नेपाली कम्युनिष्ट पार्टीले प्रदेशभर ‘एकता सन्देशसभा’ सञ्चालन गर्दै चुनावी वातावरण निर्माण गरिरहेको छ। उता रास्वपाले समानुपातिकतर्फका उम्मेदवार मनोनयनका लागि आह्वान गरिसकेपछि पार्टीभित्र चलहल–पहल बढेको छ।चुनावको निश्चिततामा केही द्विविधा रहेका बावजूद पर्साभर सम्भावित उम्मेदवारबारे हुने चर्चा भने थप व्यापक बन्दै गएको छ। सामाजिक सञ्जाल तथा आन्तरिक पार्टी संवादबाट नेताहरूका नाम अगाडि आउनेक्रम तीव्र छ।
पर्सा–१ मा नेपाली कांग्रेसले उद्योगी अनिल रुंगटालाई प्रमुख दाबेदारको रूपमा हेरिरहेको बताइन्छ। जसपाले महासचिव तथा प्रदेशसभा सदस्य मोहम्मद लालबाबु राउत गद्दीलाई अघि सार्न सक्ने अनुमान गरिएको छ। त्यस्तै, रास्वपाका जिल्ला सभापति हरि पन्त पनि सम्भावित उम्मेदवारका रूपमा उभिँदैछन्।
पर्सा–२ मा कांग्रेसभित्र अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यमध्ये कसलाई टिकट दिइने भन्ने विषयमा छलफल बढ्दो छ। एमाले पक्षमा भने वीरगञ्जका पूर्व मेयर विजय कुमार सरावगीलाई उम्मेदवारी दिन सकिने संकेत देखिन्छ।
पर्सा–३ मा एमालेले युवा नेता रुपेश पाण्डेलाई अगाडि सार्न लागेको बुझिन्छ। कांग्रेसले पूर्वमन्त्री सुरेन्द्र चौधरीलाई पुनः उम्मेदवार बनाउनेतर्फ झुकाव देखाएको छ। यता नेपाली कम्युनिष्ट पार्टीका छोटेलाल प्रसाद यादवले सामाजिक सञ्जालमार्फत आफू चुनावी तयारीमा रहेको संकेत दिएका छन्।

पर्सा–४ मा एमालेभित्र जालिम मियाँको नाम उल्लेखनीय रूपमा उठिरहेको छ। यद्यपि पार्टीको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रिया जारी रहेकाले अन्तिम निर्णय बाँकी छ।भदौ २३–२४ को जेनजी अभियानपछि ओली नेतृत्वको सरकार पतन भई नागरिक सरकार बनेको पृष्ठभूमिमा यो निर्वाचन हुन लागेको हो। त्यसैले यसपटक युवापुस्तालाई प्राथमिकता दिने अपेक्षा जुटिरहेको छ।
तर युवा नेतृत्वले चुनाव जित्न सक्ने संरचना पूर्णरूपमा तयार नभएकाले पुराना नेताहरूको प्रभाव पनि कायम रहने अनुमान गरिन्छ। नयाँ दलदेखि स्थापित पार्टीसम्मले जेनजी पुस्तालाई लक्षित गर्दै उम्मेदवार छनोट र प्रचार रणनीति बनाइरहेका छन्।आगामी निर्वाचनमा युवा तथा नयाँ अनुहारले निर्णायक भूमिका खेल्ने संकेत अहिले देखि नै देखिन थालेका छन्।



