वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोज चौधरीले आज वीरगंज महानगरपालिका वडा नं. १७ अन्तर्गत पर्ने अलौं र कोन्हिया क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। सो अवसरमा उनले कांग्रेस र एमालेको शासनकालमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको र त्यसका कारण देश करिब १० वर्ष पछाडि धकेलिएको दाबी गरे। वर्तमान परिस्थितिमा नेकपा नै देशका लागि एक मात्र विकल्प रहेको उनको भनाइ थियो।
चौधरीले नेकपाको नेतृत्वमा मात्रै मुलुकले समग्र विकासको गति लिने विश्वास व्यक्त गर्दै जेन्जी पुस्ताको चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने क्षमता नेकपामै रहेको जिकिर गरे। आफू विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएको उल्लेख गर्दै उनले सधैं जनताको दुःख–सुखमा साथ दिएको बताए। निर्वाचन जिते पनि जनताकै बीचमा रहेर सेवा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, बृजलाल पासवान, विपिन यादव, बिरेन्द्र यादव तथा पार्टी नेता जीवन राम, सुशील हजरा, लालमन वैइबा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।


