काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै गएको दाबी गरेका छन्।

बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विपक्षी दल, बुद्धिजीवी र पत्रकारसमेतले नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो हुँदै गएको निष्कर्ष निकाल्न थालेको जिकिर गरे। पहिले आफ्नो पार्टीलाई कमजोर आँक्नेहरू अहिले प्रतिस्पर्धामा अघि बढेको स्वीकार्न बाध्य भएको उनको भनाइ थियो।

प्रचण्डका अनुसार सुरुआतमा नेकपाले कम सिट ल्याउने अनुमान गरिए पनि अहिले चार दलबीच कडा प्रतिस्पर्धा हुने चर्चा चलिरहेको छ। उनले प्रत्यक्षतर्फ पनि पार्टीले सकारात्मक नतिजा ल्याउने संकेत देखिएको बताए।
उनले नेता–कार्यकर्तालाई निर्वाचन प्रचारप्रसारमा सक्रिय र समर्पित भएर लाग्न निर्देशन दिँदै नेकपालाई उत्कृष्ट पार्टी बनाउने लक्ष्यसहित अघि बढ्न आग्रह गरे।
नयाँ भनिएका राजनीतिक दलहरूले केही नयाँ क्षेत्रमा प्रभाव देखाए पनि परम्परागत आधार क्षेत्रमा त्यस्तो प्रभाव नदेखिएको उनको दाबी थियो। प्रचण्डले नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच देशभर कडा प्रतिस्पर्धा हुने बताए।
आगामी १०–१५ दिनभित्र नेकपा अग्रस्थानमा पुगेको सन्देश फैलिने विश्वास व्यक्त गर्दै उनले सबैले मेहनत गरे वर्तमान परिस्थिति अझै अनुकूल बन्ने दाबी गरे।


