Lucky-Khabar_

निर्वाचनमा ४ दिन बाँकी: पर्सामा मतदान दिन पासको व्यवस्था मिलाइयो

वीरगञ्ज । निर्वाचन हुन चार दिन बाँकी रहँदा पर्सामा मतदान अवधिमा सवारीसाधन सञ्चालनलाई सहज बनाउन विशेष व्यवस्था गरिएको छ।

content ad p2

जिल्ला निर्वाचन कार्यालय पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले प्रेस पास प्राप्त सञ्चारकर्मीका सवारीसाधनलाई छुट्टै सवारी पास आवश्यक नपर्ने जानकारी दिए। उनका अनुसार प्रेस पास नभएका पत्रकारले भने आफ्नो सञ्चार संस्था, परिचयपत्र र सवारीसाधनको विवरणसहित नेपाल पत्रकार महासंघ पर्सा शाखा को सिफारिसमा सवारी पास लिनुपर्नेछ।

प्रजिअ दाहालले प्रत्येक मतदान केन्द्रमा पत्रकारलाई आवश्यक तस्बिर लिन सक्ने वातावरण मिलाउन मतदान अधिकृत र सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए। मतदान प्रक्रियामा असर नपर्ने गरी सञ्चारकर्मीले सहज रूपमा काम गर्न पाउने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका लागि भने जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट प्रेस पास उपलब्ध गराइने उनले जानकारी दिए।

निर्वाचन आयोग ले सवारीसाधन सञ्चालनलाई प्रभावकारी र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको जनाएको छ। कार्यविधिअनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक पर्दैन।

यस्तै दूरसञ्चार, विद्युत्, ढल मर्मत, अस्पताल सेवा तथा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई यात्रु ओसारपसार गर्ने सवारीसाधन पनि पासबिनै सञ्चालन गर्न पाइनेछ। हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शारीरिक रूपमा अशक्त वा ज्येष्ठ नागरिक मतदाता र उनीहरूका एक सहयोगीलाई बोकेका सवारीसाधनलाई समेत छुट दिइएको छ।

नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन, राष्ट्रिय मानवअधिकार आयोग का अनुगमन सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन निर्वाध सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनीयारले हालसम्म सम्पन्न भएका तयारीबारे जानकारी गराएकी थिइन्।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर