वीरगन्ज ।वीरगन्ज महानगरपालिका वडा नं. ८ का साजन महरा, ध्रुव महरा, राहुल महरा लगायत करिब २०० जना युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। गहवा क्षेत्रका ‘जेन्जी’ (Gen Z) युवाहरूको सामूहिक प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

आगामी निर्वाचनलाई मध्यनजर गर्दै संगठन विस्तार र चुनावी समीकरणमा यस कदमले रास्वपाको स्थानीय आधार बलियो बनाउने विश्लेषण गरिएको छ। विशेषगरी नेता हरि पन्त को प्रभाव क्षेत्र थप सुदृढ भएको आकलन गरिएको छ।

ठूलो संख्यामा युवाहरू पुराना दलबाट अलगिँदै नयाँ विकल्प रोज्नुले वीरगन्जको परम्परागत राजनीतिक संरचनाप्रति युवापुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनप्रतिको आकांक्षा झल्काएको छ। स्थानीय तहमा हरि पन्तले बनाएको प्रभाव र पार्टीको एजेन्डाले युवाहरूलाई आकर्षित गर्न सफल भएको संकेत यस घटनाले दिएको छ।
मधेस प्रदेशको प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्र वीरगन्जमा यसरी युवाहरूको समर्थन प्राप्त हुनु रास्वपाका लागि सांगठनिक रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले आगामी दिनमा स्थानीय मुद्दा र नीतिगत बहसमा रास्वपाको सक्रियता तथा नेतृत्वदायी भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।


