काठमाडौं | रामेछापमा सोमबार भएको सवारी दुर्घटनामा एक जना मतदान अधिकृत र एक जना असईको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा असई पर्शुराम यादव र मतदान अधिकृत तथा शिक्षक डोरप्रसाद घिमिरे रहेका छन्।

निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी सवार गाडी रामेछाप नगरपालिका–२ को देउराली क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। उक्त गाडी दुईवटा मतदान केन्द्रका कर्मचारी र सामग्री बोकेर गइरहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका सात जनालाई उद्धार गरी मन्थली विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। घाइतेहरूमा शिक्षक भीमबहादुर मानन्धर, कृष्णप्रसाद घिमिरे, चालक सम्बरबहादुर मानन्धर, दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पुजादेवी सुनुवार रहेका छन्। उनीहरूको छाउनी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
यसैबीच, गाडीबाट हाम फालेका तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


