काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक तथा संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउन देशभरका सातै प्रदेशमा केन्द्रीय तहका नेताहरूलाई विशेष जिम्मेवारीसहित परिचालन गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आकस्मिक बैठकले प्रदेशगत रूपमा “सांगठनिक कमान्ड” सम्हाल्ने गरी प्रभावशाली नेताहरूलाई खटाउने निर्णय गरेको हो। कांग्रेसले यस कदमलाई संगठन विस्तारसँगै आगामी निर्वाचनको प्रारम्भिक तयारीका रूपमा लिएको जनाएको छ।

युवा नेता प्रदीप पौडेल को अध्यक्षतामा बसेको बैठकमा पार्टी महामन्त्री गगन थापा को समेत विशेष उपस्थिति रहेको थियो। बैठकले प्रदेशगत जिम्मेवारी यसरी बाँडफाँट गरेको छः
* कोशी प्रदेश – डिला संग्रौला
* मधेश प्रदेश – देवराज चालिसे
* बागमती प्रदेश – बहादुरसिंह लामा
* गण्डकी प्रदेश – मुक्ताकुमारी यादव
* लुम्बिनी प्रदेश – अमरसिंह पुन
* कर्णाली प्रदेश – जानकी सिंह
* सुदूरपश्चिम प्रदेश – उदयशमशेर राणा
कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुलाल का अनुसार प्रतिनिधिहरूलाई केवल अनुगमनका लागि मात्र नभई तल्लो तहसम्म पुगेर सदस्यता वितरण, अद्यावधिक र त्यसक्रममा देखिएका प्राविधिक तथा राजनीतिक समस्या समाधान गर्ने कार्यादेशसहित खटाइएको हो।
कांग्रेसले संगठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ। प्रदेश, जिल्ला तथा स्थानीय तहका कमिटीसँग समन्वय गरी प्रतिनिधिहरूले तत्कालै काम सुरु गर्ने तयारी गरिएको छ।
प्रतिपक्षमा रहेको कांग्रेसले संगठन पुनर्जीवनका लागि थालेको यो अभियानलाई पार्टीभित्र आगामी राजनीतिक रणनीतिसँग जोडेर हेरिएको छ।


