काठमाडौं । सडकमा गुड्ने सवारी साधनमा प्रयोग हुने कालो सिसा अब केवल फेसन वा गोपनीयताको विषय मात्र नभई विभिन्न आपराधिक गतिविधिको माध्यम बन्दै गएको पाइएको छ। यही अवस्थालाई मध्यनजर गर्दै उपत्यका ट्राफिक प्रहरीले विशेष तथा आक्रामक कारबाही अभियान सञ्चालन गरेको छ।

प्रहरीका अनुसार निजी तथा सार्वजनिक सवारी साधनमा जडान गरिएका कालो सिसाको आवरणमा साना हतियार, लागुऔषध तथा सुनको अवैध ओसारपसार हुने गरेको छ। साथै फरार अपराधीहरूले पनि यस्ता सवारी साधनको दुरुपयोग गर्ने क्रम बढेपछि निगरानी र चेकजाँच कडा पारिएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकार प्राप्त निकायको स्वीकृतिबिना कुनै पनि सवारी साधनको स्वरूप, रङ वा सिसामा परिवर्तन गर्न पाइँदैन। तर नियमविपरीत आफूखुसी कालो सिसा जडान गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार अभियानको पहिलो चरणमै नियम उल्लंघन गर्ने ३७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।
प्रहरीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि कालो सिसा प्रयोग गर्ने सवारी साधनमाथि निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ। सर्वसाधारणलाई कानुनको पालना गर्न र स्वीकृतिविनाका कालो सिसा हटाउन समेत आग्रह गरिएको छ।


