वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी सम्हालेलगत्तै प्रशासनिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्रियता देखाउनुभएको छ। कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले शुक्रबार बिहान महानगरका विभिन्न शाखा तथा फाँटहरूको आकस्मिक (छड्के) अनुगमन गर्नुभएको हो।

शुक्रबार बिहान १०:३० बजे गरिएको अनुगमनका क्रममा विभिन्न शाखामा कार्यरत करिब २० जना कर्मचारी आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएको महानगरले जनाएको छ। अनुगमनपछि अनुपस्थित कर्मचारीहरूको अवस्थाबारे विवरण संकलन गरी आवश्यक प्रमाणीकरण प्रक्रिया अघि बढाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत बोहराले प्रारम्भिक रूपमा कतिपय कर्मचारी बिदामा, केही फिल्डमा खटिएको र केही ढिलो कार्यालय पुगेको जानकारी प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार सबै विवरणको सत्यापन गरिनेछ र लापरबाही पुष्टि भए प्रचलित कानुन तथा नियमअनुसार कारबाही गरिनेछ।

कार्यवाहक नगर प्रमुख आलमले छड्के अनुगमनको उद्देश्य कर्मचारीलाई कारबाही गर्नु मात्र नभई सेवाग्राहीले भोगिरहेका समस्याको वास्तविक अवस्था बुझ्नु र कार्यालयको कार्यसम्पादन सुधार गर्नु रहेको बताउनुभयो।
उहाँले महानगरमा सेवा लिन आउने नागरिकबाट सेवा प्रवाहमा ढिलासुस्ती तथा व्यवस्थापनसम्बन्धी गुनासा आइरहेको उल्लेख गर्दै कर्मचारीहरूले काम गर्ने क्रममा सामना गरिरहेका व्यवहारिक चुनौतीबारे पनि प्रत्यक्ष जानकारी लिन अनुगमन गरिएको स्पष्ट पार्नुभयो।

महानगर नेतृत्वले नियमित अनुगमनमार्फत कार्यालय अनुशासन, कर्मचारीको जिम्मेवारीबोध र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ। स्थानीयवासीले पनि महानगरको प्रशासनिक सुधारतर्फको यस पहललाई सकारात्मक रूपमा लिएका छन्।


