वीरगञ्ज । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जित्दै प्रतियोगिताको इतिहासमा पहिलो गैरआवासीय नेपाली (एनआरएन) विजेता बन्ने ऐतिहासिक सफलता हासिल गरेकी छन्। शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले मुख्य उपाधिसँगै चार सहविधा पनि जित्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।

हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको दोस्रो पुस्ता संयोजकका रूपमा कार्यरत दीपमाला विदेशमा स्थायी रूपमा बसोबास गर्ने नेपाली मूलकी युवतीमध्ये मिस नेपालको ताज जित्ने पहिलो प्रतियोगी बनेकी छन्। यसअघि विभिन्न एनआरएन युवतीहरूले प्रतियोगितामा सहभागिता जनाए पनि मुख्य उपाधि जित्न सकेका थिएनन्।

दीपमालाले आफ्नो जितसँगै तीन महत्वपूर्ण कीर्तिमान पनि कायम गरेकी छन्। उनी मिस नेपालको इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता बन्नुका साथै मिस नेपाल हङकङ (डायस्पोरा) को उपाधि जितेर त्यसैको निरन्तरतामा मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो प्रतियोगी बनेकी हुन्। साथै, उनले एकै संस्करणमा चार सहविधा जित्दै प्रतियोगितामा नयाँ रेकर्ड पनि बनाएकी छन्।
मुख्य उपाधिसँगै दीपमालालेमिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्सर ब्यूटी विथ पर्पस का उपाधि पनि आफ्नो नाममा पारिन्। यीमध्ये केही सहविधाले उनलाई सिधै सेमिफाइनलमा प्रवेश दिलाएको थियो भने ‘ब्यूटी विथ पर्पस’ उपाधिलाई आगामी मिस वर्ल्ड प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
हङकङमा जन्मेर हुर्किएकी तथा त्यहीँ अध्ययन गरेकी दीपमालाको सफलतासँगै उनको पारिवारिक पृष्ठभूमि पनि चर्चामा आएको छ। उनकी आमा रोशनी ढकालले सन् १९९४ मा मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। आमाले पूरा गर्न नसकेको सपना छोरी दीपमालाले मिस नेपालको ताज जितेर साकार पारेकी हुन्।

दीपमालाको ऐतिहासिक सफलताप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि खुशी व्यक्त गरेको छ। एनआरएनएका उपाध्यक्ष रोजिना प्रधानले यो उपलब्धि विश्वभर रहेका नेपाली मूलका युवापुस्ताका लागि प्रेरणादायी भएको प्रतिक्रिया दिएकी छन्।
अब दीपमालाले एक वर्षसम्म आयोजक संस्था दमिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तयारी गर्नेछिन्। यसैगरी, मिस नेपाल इन्टरनेसनलआर्या निशान्तले जापानमा हिडन ट्रेजर सँग आबद्ध भएर विभिन्न सामाजिक तथा प्रवर्द्धनात्मक कार्यक्रममा सहभागिता जनाउनेछिन्। साथै, उनले आगामी हुने मिस इन्टरनेसनल तथा मिस नेपाल कस्मो कशिश सुब्बाले भियतनाममा हुने मिस कस्मो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।


