बिरगंज ।पकाहा मैनपुर गाउँपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानस्वरूप ल्यापटप वितरण गरेको छ।

गाउँपालिकाले उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यार्थीहरूको मेहनत, प्रतिभा र लगनशीलताको कदर गर्दै ल्यापटप प्रदान गरेको जनाएको छ। यस पहलले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा थप प्रेरणा मिल्ने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।
गाउँपालिकाका अनुसार शिक्षाको गुणस्तर अभिवृद्धि, सूचना–प्रविधिमा पहुँच विस्तार तथा विद्यार्थीलाई आधुनिक शिक्षासँग जोड्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
यस अवसरमा गाउँपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। स्थानीयवासीले पनि शिक्षालाई प्राथमिकता दिँदै प्रतिभाको सम्मान गर्ने गाउँपालिकाको यस कदमलाई सकारात्मक र प्रेरणादायी पहलका रूपमा स्वागत गरेका छन्।



