काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव र कालोबजारी बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले ग्यास वितरणलाई व्यवस्थित बनाउन सुरक्षा परिचालन गरेको छ।

प्रहरीले उपत्यकाका ५५ वटा ग्यास डिपोमा सुरक्षाकर्मी परिचालन गरी उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास वितरण गर्न थालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार शनिबार मात्रै उपत्यकाका विभिन्न डिपोबाट ७ हजार ७३६ सिलिन्डर ग्यास वितरण गरिएको छ।वितरित ग्यासमध्ये ३ हजार १८९ सिलिन्डर सर्वसाधारण उपभोक्तालाई र ३ हजार ३९ सिलिन्डर विभिन्न व्यावसायिक प्रतिष्ठानलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ।
सुकेधारास्थित श्री ग्यास डिपोमार्फत होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई २ हजार ८०० सिलिन्डर वितरण गरिएको थियो। यस्तै, टोखास्थित जय कालिका ग्यास डिपोबाट २३४ सिलिन्डर सर्वसाधारण उपभोक्तालाई वितरण गरिएको प्रहरीले जनाएको छ।
ग्यासको कालोबजारी नियन्त्रण तथा वास्तविक उपभोक्तासम्म सहज रूपमा ग्यास पुर्याउन उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

प्रहरीले कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ। आम उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले अनुगमन तथा वितरण अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।


