काठमाडौं । थोरै रकमको खरिदले पनि ठूलो पुरस्कार जित्न सकिन्छ भन्ने उदाहरण करदाता प्रोत्साहन पुरस्कार योजनाको पछिल्लो नतिजाले देखाएको छ।

आन्तरिक राजस्व विभागले साउन महिनाको दोस्रो पाक्षिक अर्थात् साउन १६ देखि ३१ गतेसम्मको नतिजा सार्वजनिक गर्दै ‘गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टर’बाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेको जनाएको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायमार्फत पुरस्कार घोषणा गरिएको हो।
विभागका अनुसार पछिल्लो १५ दिनमा करदाता प्रोत्साहन पुरस्कार योजनामा उपभोक्ताको सहभागिता उल्लेख्य रूपमा बढेको छ। साउनको पहिलो १५ दिनमा करिब ७ हजार बिल मात्रै अपलोड भएकोमा दोस्रो पाक्षिकमा ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल दर्ता भएका छन्।

त्यसैगरी,क्यूआर कारोबारमार्फत स्वतः सहभागी हुनेको संख्या ३ करोड २० लाख ८६ हजार ३८० पुगेको विभागले जनाएको छ।
कुल ३ करोड २४ लाख ४३ हजारभन्दा बढी कारोबारबाट छनोट भएका थप १५ जना विजेताले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाएका छन्। कर कटाएर उनीहरूको हातमा १ लाख रुपैयाँ परेको छ।
विभागले यो योजनाले उपभोक्तालाई बिल लिन तथा डिजिटल माध्यमबाट कारोबार गर्न थप प्रोत्साहन मिलेको जनाएको छ।


