Lucky-Khabar_

भ्रष्टाचार आरोपपछि आनन्द लामिछानेमाथि छानबिन, राजीनामाको दाबीमाथि महानगरको प्रश्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोप र आन्तरिक छानबिनका विषयमा विवाद चर्किएको छ। महानगरपालिकाको कार्यवाहक मेयर सचिवालयले लामिछानेले छानबिनबाट जोगिन र विषयलाई राजनीतिक रंग दिन राजीनामाको प्रपञ्च रचेको आरोप लगाएको छ।

content ad p2

कार्यवाहक मेयर इम्तियाज आलमले जिम्मेवारी सम्हालेपछि विभिन्न विद्यालय, शिक्षक तथा सर्वसाधारणबाट लामिछानेविरुद्ध लिखित उजुरी परेको सचिवालयले जनाएको छ। उजुरीमा काम गरिदिएबापत रकम माग गरेको तथा रकम नदिएपछि विभिन्न काम लामो समयसम्म अलपत्र पारेको आरोप लगाइएको छ।

उजुरीपछि कार्यवाहक मेयर आलम र प्रमुख प्रशासकीय अधिकृतले लामिछानेलाई मौखिक स्पष्टीकरण सोधेका थिए। उनको जवाफ चित्तबुझ्दो नभएपछि महानगरपालिकाले साउन १४ गते चलानी नम्बर ५७९ को पत्रमार्फत उनलाई शिक्षा महाशाखा प्रमुखको जिम्मेवारीबाट हटाएको सचिवालयको भनाइ छ।

त्यसपछि उक्त जिम्मेवारी तत्कालका लागि महानगरपालिकाकै कर्मचारी सृजना बुढाथोकीलाई दिइएको जनाइएको छ। उनी हाल बिदामा रहेको सचिवालयले जनाएको छ।

यसैबीच, आफूले कार्यवाहक प्रमुखले भनेअनुसार काम गर्न नसकेका कारण राजीनामा दिएको भन्ने लामिछानेको भनाइप्रति सचिवालयले आपत्ति जनाएको छ। कार्यवाहक मेयरका प्रेस सल्लाहकार सदाब हुसैनले लामिछानेले वास्तवमै राजीनामा दिएको भए राजीनामा पत्र सार्वजनिक गर्नुपर्ने बताएका छन्।

हुसैनले महानगरपालिकाले शिक्षा क्षेत्रमा देखिएका बेथिति र भ्रष्टाचारसम्बन्धी उजुरीमाथि आन्तरिक छानबिन अघि बढाइरहेको भन्दै दोषी नभए छानबिनमा सहयोग गर्न लामिछानेलाई आग्रह गरेका छन्। उनले प्रमाणित तथ्यका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई समेत आग्रह गरेका छन्।

यता, लामिछानेमाथि लगाइएका आरोपका सम्बन्धमा उनको धारणा भने सार्वजनिक हुन बाँकी छ। छानबिनबाट आरोप पुष्टि हुन्छ वा हुँदैन भन्ने विषयले अबको घटनाक्रम निर्धारण गर्ने देखिएको छ।

सम्बन्धित खबर

बाढी प्रभावितका लागि समाजसेवी राजी राणाको १ करोड ९ लाख सहयोग

लक्की खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर